बेलबारीः प्रदेश नम्बर १ मा आर्थिक वर्ष ०७५÷०७६ मा ३ सय ७३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । १ हजार २ सय ९८ सवारी साधन दुर्घटना हुँदा ९ सय ३४ जना गम्भीर घाइते भएका थिए ।
प्रदेश प्रहरी कार्यालय इटहरीका प्रहरी सहायक निरीक्षक (असई) कृष्ण प्रधानका अनुसार मोटरसाइकल ९ सय १५, ट्रक १ सय ३९, बस १ सय ३५, कार जीप, भ्यान २ सय ६९, ट्याक्टर १ सय ४० ट्याम्पो १ सय १, साइकल १ सय १८ र अन्य ५४ ओटा सवारी साधन दुर्घटनामा परेका थिए ।
अघिल्लो आर्थिक वर्ष ०७४÷०७५ मा १ हजार २ सय ६९ सवारी साधन दुर्घटनामा पर्दा ४ सय २४ जनाको मृत्यु भएको थियो भने ९ सय ७४ गम्भीर तथा १ हजार ९८ सामान्य घाइते भएका थिए । असई प्रधानका अनुसार सवारी दुर्घटनामा धेरै मोटरसाइकल पर्ने गरेका छन् ।
गत २ वर्षको तथ्याङ्क हेर्दा प्रदेश १ मा सवारी दुर्घटनामा कमी आएको छ । सडक सुशासनका लागि विभिन्न कार्यक्रम गरिएकाले सवारी दुर्घटना न्यूनीकरण भएको प्रदेश प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले बताए । दाहालका अनुसार ट्राफिक प्रहरीले सवारी साधनका चालक तथा यात्रुलाई सचेतनामूलक कार्यक्रम गर्ने गरेको छ ।
यसैगरी, ट्राफिक प्रहरीले आर्थिक वर्ष ०७५÷०७६ मा १६ करोड ७५ लाख ९८ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार मापसेमा ९ हजार ८ सय ८४ जना कार्वाहीमा परेका छन् । जसमा ९८ लाख ८४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने २१ हजार ९ सय ५२ ओटा सवारीका साधन कार्वाहीमा परेका छन् । जसबाट १ करोड ४५ लाख २० हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
सिट बेल्ट नबाँध्ने ९ हजार ३ सय ४१ जना सवारी चालक कार्वाहीमा पर्दा ४६ लाख ९६ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । गलत साइड प्रयोग गरेर हिँड्ने १५ हजार १ सय ३५ सवारी साधन कार्वाहीमा पर्दा ८५ लाख ६४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यसैगरी, लापरवाही गरेर सवारी कुदाउने ५५ हजार ७ सय ७५ चालक कारवाहीमा पर्दा ३ करोड २१ लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । तीव्र गतिमा सवारी कुदाउने ३ हजार ८ सय ५५ सवारीका साधन कार्वाहीमा पर्दा १९ लाख २७ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।