झापाः भारतका विभिन्न उद्दार केन्द्रका गृहमा राखिएका नेपालका बालबालिकालाई सहज रूपमा नेपाल फर्काउने वातावरण तयार गर्न त्यस क्षेत्रमा क्रियाशील गैर सरकारी सङ्घ संस्थाले आग्रह गरेका छन् ।

चेलीबेटी तथा बालबालिका बेचबिखनविरुद्घ काम गर्दै आएको भारतको सिलिगुडीस्थित कञ्चनजङ्घा उद्दार केन्द्र, कलकत्ताको सनलपलगायतका संस्थाले माइती नेपालको व्यवस्थापनमा काँकरभिट्टामा मङ्गलबार गरेको छलफलमा यस्तो आग्रह गरेका हुन् ।

झापा जिल्लाका सुरक्षा निकायका उच्च अधिकारीहरूसँग भएको छलफलमा सनलप संस्थाकी ताप्ती भौमिकले धेरै नेपाली बालबालिकालाई बेचबेखिनबाट समयमै जोगाए पनि स्वदेश फर्काउन भने नसकेको धारणा राखिन् । उद्दार गरिसकेका बालबालिकालाई भारतबाट नेपाल फर्काउन धेरै समय लाग्ने भएको हुँदा नेपालका तर्फबाट पनि त्यहाँका सरकारी अधिकारीहरूसँग छलफल गरेमा छोटै समयमा नेपाल फर्काउने वातावरण तयार गर्न सकिने हुनाले भौमिकले नेपाली सुरक्षा अधिकारीले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले यो समस्या स्थानीय स्तरबाट भन्दा पनि दुई देशका सरकारबीच छलफल गरी सरल र सहज बनाउनुपर्ने बताए । उनले बैठक अन्तरक्रिया र छलफलमा अलमलिनुभन्दा परिणाममुखी काम गर्न सुझाव दिए । उपप्रमुख मीना पोखरेल उप्रेतीले स्थानीय सरकारको हैसियतले प्रदेश र सङ्घीय सरकारसँग समेत यसका लागि आवश्यक छलफल गर्ने बताइन् ।

झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले नेपाल प्रहरीले यसका लागि गर्नुपर्ने सहयोगमा सधैँ सकारात्मक रहेको बताए । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले कानुनभन्दा बाहिर नगई विदेशमा रहेका यस्ता बालबालिकालाई कसरी सजिलै नेपाल फर्काउन सकिन्छ त्यस विषयमा नेपाल र भारततर्फका गृह मन्त्रालयको भूमिका ठूलो हुने बताए ।

झापा जिल्लाका महान्यायाधिवक्ता केशवप्रसाद पन्तले ती नेपाली बालबालिकालाई छिटो र छरितो रूपमा कसरी नेपाल ल्याउने र अभिभावकको जिम्मा लगाउने विषयमा सबै क्षेत्र सक्रियपूर्वक लाग्नुपर्ने बताए । चेलीबेटी तथा मानव बेचबिखनका जस्ता आपराधिक घटनामा पीडितले समयमै नबोल्ने गरेका कारण पीडकले उन्मुक्ति पाउने गरेको विचार राखेका थिए । माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले सञ्चालन गरेको छलफलमा सिलिगुडीस्थित कञ्चनजङ्घा उद्दार केन्द्रका प्रमुख प्रभात पाठकले धन्यवाद ज्ञापन गरेका थिए ।