बेलबारीः प्रहरीले डिजेल बोक्ने ट्याङ्करबाट लागूऔषध फेला पारेको छ ।
भारतको बरौनी डिपोबाट २० हजार लिटर डिजेल लोड गरेर आएको ना ४ ख ६६५० नम्बरको ट्याङ्करलाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । प्रहरीले विराटनगर महानगरपालिका–४ पीपल चोकबाट सह–चालक भारतको अररिया बथनाहा अमुनाका १९ वर्षीय मोहम्मद राजु र ट्याङ्करलाई नियन्त्रणमा लिएको छ । चालक भारतको अररिया बथनाहास्थित सोनापुरका अन्दाजी ३२ वर्षीय मोहम्मद सफिक भने फरार रहेका छन् ।
राजमार्गमा ‘नो पार्किङ’ लेखिएको ठाउँमा पार्किङ गरेर राखिएको ट्याङ्करलाई नियन्त्रणमा लिँदा लागूऔषध भेटिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोख्रेलले बताए । पोख्रेलका अनुसार नियन्त्रणमा लिँदा ट्याङ्करभित्र चालक भने थिएनन् । पक्राउ परेका सह–चालकले चालक खाना खान गएको प्रहरीलाई बताएका थिए ।
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले ट्याङ्करबाट ४ बोतल कोडिन नामक लागूऔषध फेला परेको बताए । उनले लागूऔषधको ३ ओटा खाली बोतल पनि भेटिएको जनाए । ट्याङ्करमा चालक बस्ने सिट नजिकै रहेको बाकसभित्र प्लाष्टिकमा प्याक गरेर राखेको अवस्थामा लागूऔषध फेला परेको हो ।
नियन्त्रणमा लिइएको ट्याङ्कर र पक्राउ परेका सह–चालकका बारेमा अनुसन्धान भइरहेको र फरार रहेका चालकको खोजी तीव्र पारिएको एसपी अधिकारीले बताए । उनका अनुसार ट्याङ्करका चालक र सह–चालक दुवै जना लागूऔषध सेवनकर्ता भएको खुलेको छ । लागूऔषध जोगबनीबाट ल्याएको खुले पनि सेवन वा बिक्री कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
पक्राउ परेको ट्याङ्कर विराटनगरका अब्दुल मन्नानको हो ।