काँकरभिट्टाः गत आर्थिक वर्ष २०७५÷ ०७६ मा मेचीनगर नगरपालिकाको न्यायिक समितिले विभिन्न प्रकृतिका ८७ ओटा मुद्दा किनारा लगाएको छ ।

नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक मीना पोखरेल उप्रेतीले गत आर्थिक वर्षमा १ सय ३२ ओटा मुद्दा दर्ता भएको जानकारी दिइन् । बाँकी मुद्दा चालु आर्थिक वर्षको लागि सरी आएका छन् । सो अवधिमा समितिमा सबैभन्दा बढी जग्गा सिमाना विवादका ४६ वटा मुद्दा दर्ता भएका थिए । जन्म र विवाह दर्ताका मुद्दा १÷१ ओटा दर्ता भएका थिए ।

समितिलाई काम गर्न सरल होस् भन्ने उद्देश्यले अहिले नगरका १५ ओटै वडामा वडास्तरीय मेलमिलाप समिति पनि गठन भएको छ । उक्त समितिमा मिलापत्र हुन नसकेका १८ ओटा मुद्दा न्यायिक समितिमा आएको कानुन अधिकृत भुइदल राईको भनाइ छ । उपप्रमुख उप्रेतीका अनुसार ५ ओटा मुद्दा न्यायिक समितिले झापा जिल्ला अदालतमा पठाएको छ भने ७ ओटा जिल्ला प्रशासन कार्यालय झापामा पठाएको छ । न्यायिक समिति गठन भएपछि नगरपालिकाले १ सय ६७ वटा विवादको छिनोफानो गरेको छ ।

नयाँ संविधानले स्थानीय सरकारलाई २२ प्रकारको विशेषाधिकार प्रदान गरेको छ । जसमा न्यायिक समिति पनि एक हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ (ख) मा गाउँपालिकाका उपाध्यक्ष वा नगरपालिकाका उपप्रमुखको ८ ओटा काम, कर्तव्य र अधिकार उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७३ ले समितिलाई आलीधुर, बाँधपैनी, कुलो वा बाटोघाटो बाँडफाँड, उपयोग, बाली, नोक्सानी गरेको, चरन, घाँस, दाउरा, ज्याला, मजदुरी, घरपालुवा पशुपंक्षी हराएको, ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको, नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जतअनुसार खान लाउन नदिएको विवाद हेर्ने अधिकार प्रदान गरेको छ ।

नगरपालिकामा यस्तै प्रकृतिका मुद्दा दर्ता हुने गरेका छन् । हरेक दिन मुद्दा दर्ता भए पनि समितिले भने साताको दुई दिन सोमबार र बिहीबार दुवै पक्षलाई राखेर छलफल गराउने गरेको छ । यी दिनबाहेक मुद्दाको प्रकृति हेरेर छलफल गरिने गरिएको छ । साताको दुई दिन पर्याप्त नभएकाले अन्य दिन पनि सुनवाइको व्यवस्था मिलाइएको उपप्रमुख उप्रेतीले बताइन् ।

मेचीनगरको न्यायिक समितिमा नगर परिषद सदस्य छोटबहादुर राई र इन्द्रबहादुर प्रधान सदस्य रहेका छन् भने कार्यालयका कर्मचारी कानुन अधिकृत भुइदल राई र जयन्ती खरेल लम्साल समेत छन् ।

न्यायिक समितिले १३ वर्षदेखि किनारा लाग्न नसकेको नाता प्रमाणितको मुद्दासमेत किनारा लगाएको कानुन अधिकृत राईको भनाइ छ ।