केराबारीः प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका धनकुटा– मोरङ सेक्रेटरी दीपक राईलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको केराबारी गाउँपालिका–३ घर भएका राईलाई बिहीबार बिहान पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

सरकारले प्रतिबन्ध लगाएपछि राई फरार भएका थिए । केराबारीकै एउटा घरमा आश्रय लिएर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको एसपी अधिकारीले बताएका छन् ।

बम विष्फोट, चन्दा आतङ्क, हतियार सङ्कलन लगायतका धेरै घटनामा राईको संलग्नता देखिएको एसपी अधिकारीले बताए । थप अनुसन्धान भइरहेको उनले बताए । मोरङ र धनकुटाबाहेक अन्य जिल्लामा भएका घटनामा राईको संलग्नता नरहेको खुलेको प्रहरीले जनाएको छ ।