धरानः इलाका प्रहरी कार्यालय धरानले विशेष सूचनाका आधारमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा २ प्रहरीसहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले १ प्रहरीसहित ३ जनालाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा थप १ प्रहरी पक्राउ परेका हुन् ।
धरान–१६ स्थित रङ्गशालाको प्याराफिटमा शङ्कास्पद अवस्थामा रहेको अवस्थामा धरान ८ का ३४ वर्षीय दिलकुमार लिम्बू, धरान– १९ का ४० वर्षीय ओमबहादुर लिम्बू पक्राउ परेका हुन् ।
त्यस्तै, उनीहरूसँगै रहेका विराटनगर घर भई इलाका प्रहरी कार्यालय इटहरीमा दरबन्दी भई इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी जवान दीपककुमार तामाङ पक्राउ परेका छन् । उनीहरूमध्ये दिलकुमार लिम्बूले बोकेको बजारे झोलामा अवैध लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।
स्पास्मो प्रोक्सिभोन आर प्लस २ सय ६४ क्याप्सुल र स्पास्मो ट्रोक्सिभोन आर प्लस १ सय ३६ क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । सो लागूऔषध बरामद गरी तिनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि गरिएको अनुसन्धानबाट जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ फैसला कार्यान्वयन धनकुटा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय इनरुवामा कार्यरत प्रहरी जवान सन्तोष तामाङ समेत घटनामा संलग्न देखिएका थिए । प्रहरीका अनुसार उनलाई पनि पक्राउ गरी लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।