ताप्लेजुङः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आफूलाई अप्ठ्यारो र चुनौतीपूर्ण जिम्मेवारी दिएर परीक्षा लिन पार्टी नेतृत्वलाई चुनौती दिएका छन् ।
पार्टीभित्रको जिम्मेवारी बाँडफाँडका विषयमा शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा व्यक्त गर्दै उनले भनेका छन्, ‘सबैभन्दा अप्ठ्यारो, जोखिम र चुनौतीपूर्ण जिम्मेवारी मलाई दिन र त्यसबाट मेरो परीक्षा लिन पार्टीका अध्यक्षद्वयलाई मेरो अनुरोध छ ।’
जिम्मेवारी व्यक्तिको योग्यता, क्षमता र उसको रुचीका आधारमा हुनुपर्नेमा जोड दिँदै उनले पार्टीको कुनै पनि जिम्मेवारी सानो वा ठूलो भन्ने हुँदैन भन्ने कुरामा आफू विश्वस्त रहेको समेत उल्लेख गरेका छन् । जिम्मेवारी बाँडफाँडको निर्णय र मापदण्ड पारदर्शी बनाउनसमेत उनले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
यस्तै पार्टीको जिम्मेवारीको विषय अहिले नै टुङ्गो लागि नसकेको र आफ्नो जिम्मेवारीका बारेमा समेत नेतृत्वबाट औपचारिक जानकारी नआएको उनको भनाइ छ ।