विराटनगरः मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ७ स्थित जनजागृति सामुदायिक वनबाट भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी कानेपोखरी र सब डिभिजन वन कार्यालय कानेपोखरीबाट खटिएको संयुक्त टोलीले वन गस्ती गर्ने क्रममा भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।

कानेपोखरी गाउँपालिका– ५ जहदा बस्ने २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका वडा नम्बर ४ बस्ने ४४ वर्षीय शम्भु गहतराज पक्राउ परेका हुन् । गस्तीको क्रममा उनीहरूको व्यवहार शङ्कास्पद देखिएपछि खानतलासी गर्दा उनीहरूको साथबाट गोली लोड गरेको अवस्थामा रहेको भरुवा बन्दुक फेला पारेको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीले हातहतियार तथा खरखजाना मुद्दाअन्तर्गत अनुसन्धान गरिरहेको बताइएको छ ।