इटहरीः सुन्दरहरैंचा–९ को पाथीभरादेवी फुड प्रोडक्टले उत्पादन गर्ने कुरकुरे नामको फास्टफुडमा भ्यागुतो भेटिएको छ । उपभोक्ता दीपक अधिकारीले खरिद गरेको उक्त कुरकुरेसँगै ‘फ्राइड’ भएको भ्यागुतो भटिएको हो । बच्चादेखि वृद्धसम्मले खाने खाद्यान्नमा भ्यागुतो भेटिएको भन्दै अधिकारीले ‘दारी ग्याङ’ नामक एक बृहत फेसबुक प्रयोगकर्ताको समूहमा पोस्ट गरेका छन् ।
भ्यागुतो पनि कुरकुरेसँगै च्यापिएर फ्राइड भएको तस्बिर पोस्ट गर्दै अधिकारीले लेखेका छन्, ‘पाथीभरादेवी फुड प्रोडक्ट सुन्दरहरैचा–९ विराटचौक मोरङबाट उत्पादित कुरकुरे चटपटा मचमा भेटिएको फ्राइ भएको भ्यागुतो हेर्नुस् ।’ सँगै अधिकारीले प्रश्न गरेका छन्, ‘अब यो वस्तुको गुणस्तर के हुने ?’
खाद्यान्नमा मिसावटले क्यान्सरसम्म हुन सक्छः खाद्य प्राविधिक पाण्डे
अरुबेला पनि पाथीभरादेवीका उत्पादनमा गुणस्तरीयता नभएको गुनासा आए पनि यसरी भ्यागुता नै फ्राइड भएर भेटिएको भने पहिलोपटक हो । खाद्यान्नमा अखाद्य वस्तु मिसिँदा स्वास्थ्यमा अनेक संक्रमण हुने र रोगहरू देखा पर्न सक्ने खाद्य प्राविधिक सन्तोष पाण्डे बताउँछन् । उनी भन्छन्, ‘यसको कारणले झाडापखाला, बान्ता, जोर्नी दुख्नेदेखि क्यान्सरसम्म हुने विभिन्न अध्ययनले देखाएको छ ।’
खाद्यान्नमा मिसावट गर्नेलाई ५ वर्ष कैद र ५० हजार जरिवाना हुन्छः अधिवक्ता ओझा
स्वास्थ्यका कारणले मात्रै नभई कानुनी तथा उपभोक्ता अधिकारको हिसाबमा पनि कुरकुरेमा भ्यागुतो भेटिनु अपराध रहेको अधिवक्ता निराजन ओझा बताउँछन् । ओझाका अनुसार यस बारेमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा पनि प्रष्ट व्यवस्था गरिएको छ ।
उक्त ऐनको दफा १०७ को उपदफा १ मा प्रष्ट भनिएको ओझा बताउँछन् । उक्त दफाले कसैले सर्वसाधारणले खाने, पिउने वा सेवन गर्ने पदार्थमा खान, पिउन वा सेवन गर्न नहुने कुनै हानिकारक पदार्थ वा खान पिउन वा सेवन गर्न हुने कमसल पदार्थ वा हानिकारक रासायनिक पदार्थ मिसावट गरी उत्पादन गर्न, बिक्री वितरण गर्न न्यून स्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ बिक्री वितरण गर्न वा पैठारी गर्न वा बिक्री वितरणको लागि राख्न नहुने बताएको उनी बताउँछन् ।
यदि ऐनविपरीत त्यस्तो गरिएको अवस्थामा सोही ऐनको उपदफा २ मा ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको ओझा बताउँछन् ।