सङ्खुवासभाः जिल्लाको अतिदुर्गम मध्ये एक सिलिचोङ गाउँपालिकाले डाक्टर वा इञ्जिनियरिङ पढ्ने २ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाभित्रका गरीब तथा जेहेन्दार १ छात्र र १ छात्रालाई जनही ५ लाख रुपैयाँ छात्रवृत्ति दिइने भएको हो ।

सिलिचोङ अति दुर्गम र पछाडि परेको क्षेत्र भएकाले आर्थिक अभावका कारण सक्षम विद्यार्थी ती विषय पढ्नबाट वञ्चित भएकाले यसै आर्थिक वर्षदेखि छात्रवृत्ति प्रदान गर्न लागिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए ।

पढाइमा अब्बल भए पनि आर्थिक अभावकै कारण गाउँपालिकाभित्र अहिलेसम्म एमबीबीएस डाक्टर कोही नभएको अध्यक्ष कुलुङले जानकारी दिए । गाउँपालिकामा इञ्जिनियरको सङ्ख्या पनि अति न्यून रहेको उनको भनाइ छ ।

यसरी छात्रवृत्ति पाएर अध्ययन गर्ने विद्यार्थीले पढाइपछि कम्तीमा २ वर्ष गाउँपालिकामा काम गर्नुपर्नेछ । सोबापत सेवा सुविधा पाउने गाउँपालिका अध्यक्ष कुलुङले जानकारी दिए । ‘छात्रवृत्ति पाउनेहरू पढिसकेर कम्तीमा २ वर्ष गाउँपालिकामै काम गर्नुपर्नेछ । उनीहरूको सेवा सुविधा सरकारले दिनेछ’, कुलुङले भने ।

डाक्टर र इञ्जिनियर पढ्न अधिक खर्च लाग्ने हुँदा गाउँपालिकाले दिने छात्रवृत्तिले उनीहरूलाई राहत पुग्ने कुलुङको दाबी छ ।

आफ्नो गाउँपालिकाभित्र सो विषय पढेकाहरू नभएकोले कर्मचारी अभाव झेल्नुपरेकाले पनि ती विषय पढ्नेलाई छात्रवृत्ति प्रदान गर्न लागिएको गाउँपालिकाका प्रवक्ता नरभुपाल राईले जानकारी दिए ।

‘सरकारले कर्मचारी पठाउँदैन, गाउँपालिका आफैँले राख्न खोज्दा दुर्गम भएकाले आउन मान्दैनन’्, राईले भने । गाउँपालिकाको केन्द्र ताम्कुमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भए पनि पटकपटक पहल गरेपछि मात्र डाक्टर पाएको उनले अनुभव सुनाए ।

यसरी बाहिरबाट ल्याइएका डाक्टर फर्किने टुङ्गो समेत नभएकोले आफैँले डाक्टर उत्पादन गर्न खोजिएको राईको भनाइ छ ।

गाउँपालिकाको तथ्याङ्कअनुसार एमबीबीएस डाक्टर पढ्ने गाउँपालिकाभित्र शून्य छन् । पशु डाक्टर २ जना छन् भने सबै विधाका गरी ३ जना इञ्जिनियर छन् ।