इटहरीः बुधबार रातिदेखि बिहीबार बिहान ८ बजेसम्म गरेर दर्जनभन्दा बढी ठाउँका एनसेल टावरमा आगजनी भएको छ । तीमध्ये अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भने नेपाल टेलिकमको टावरमा पनि आगजनी भएको छ । अन्य सबै ठाउँमा एनसेलका टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले एक दर्जन बढी जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट गराएको प्रहरीले जनाएको छ । आगजनीका कारण ती क्षेत्रमा सञ्चार विच्छेद भएको छ ।

प्रहरीका अनुसार पूर्वमा झापा र मोरङको उर्लाबारीमा आगजनी भएको छ । त्यस्तै, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली र रुपन्देही जिल्लाका एनसेल टावरमा आगजनी भएको छ ।

यीमध्ये झापा र धादिङका एनसेल टावरमा भने बम विष्फोट गराइएको प्रहरीले जनाएको छ । आगजनीमा विप्लव समूहको हात रहेको हुन सक्ने आशङ्का गरिए पनि अनुसन्धानपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।