इटहरीः प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन गराउनको लागि मिति तोक्ने मुख्य एजेण्डा राखी निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ ।

आयोगले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व भएका १८ दललाई बैठकका लागि बोलाएको हो । निर्वाचनको मिति तोक्ने विषयमा दलहरूलाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले बताएका छन् । आयोगसँगको परामर्शमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्थाअनुसार आयोगले छलफल शुरु गरेको बताइएको छ ।

छठ पर्वपछि निर्वाचन मिति तोक्ने गरी निर्णय हुन सक्ने बताइएको छ । निर्वाचन मिति तोकिएमा धरान उपमहानगरपालिकाका प्रमुखसहित प्रदेश १ का अन्य विभिन्न स्थानीय तहले रिक्त स्थानमा नयाँ जनप्रतिनिधि पाउनेछन् ।