भोजपुरः भोजपुरको दक्षिणमा पर्ने रामप्रसाद राई गाउँपालिका वडा नं. १ स्थित ओख्रेको डाँडाखर्कमा रहेको एनसेल टावरमा बुधबार राति आगजनी भएको छ ।
टावरमा आगजनी हुनुका साथै ५ वटा सोलार प्यानल तोडफोड भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए । आगजनीका कारण टावरको महत्वपूर्ण मेसिनमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
टावरमा तोडफोड भएको सूचना पाएपछि घटनास्थलतर्फ प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टावरमा नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताहरूले आगजनी तथा तोडफोड गरेको हुन सक्ने अनुमान गरिएको सुरक्षा स्रोतले जनाएको छ । बुधबार राति देशका धेरै स्थानका एनसेल टावरमा आगजनी भएको छ । तर हालसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन ।