इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले घरैमा पुगेर जागिर दिन्छु भनेका अपाङ्ग युवा रोजगारीको खोजीमा भौँतारिइरहेका छन् । इटहरी २ का मानबहादुर भुजेल अहिलेसम्म जागिरकै खोजीमा छन् ।

गत कात्तिकमा इटहरी उपमहानगरपालिकाका मेयर चौधरीले उनको घरैमा पुगेर उपमहानगरपालिकामै जागिर दिने प्रतिबद्धता जनाएका थिए ।

मेयर चौधरी अनुगमनको क्रममा उनको गाउँमा पुगेका थिए । सोही क्रममा उनको घरमा पुगेका मेयर चौधरीले जागिर लगाइदिने वचन दिएको भुजेल बताउँछन् । मेयरको भनाइ सम्झँदै उनी भन्छन्, ‘तपाईंको सम्पूर्ण डकुमेन्ट लिएर भोलि नै नगरपालिका कार्यालयमा आउनू, तपाईको जागिरको जिम्मा म लिन्छु भन्नुभयो ।’

मेयरसँगै गएका उनका प्रेस सल्लाहकार लीलाराज भट्टराईले मेयरसँग केही माग राख्न मन लागे राख्नुस् भनेपछि आफूले जागिर लगाइदिन भनेको उनको भनाइ छ । आफ्नो पढाइ र क्षमताअनुसार रोजगारी दिने भनी आश्वासन दिएको भुजेल बताउँछन् । हालसम्म जागिर नभए पनि मेयर चौधरीले वचन खेर जान नदिनेमा आफू आशावादी बनेको भुजेलको भनाइ छ ।

आफूले अफिसमा काम गर्न सक्ने बताएको र सोही अनुसारको जागिर मिलाइदिन भनेको उनी बताउँछन् । केही दिन अगाडि अपाङ्गता परिचयपत्र बुझ्न उपमहानगर कार्यालयमा जाँदा पनि मेयरले आश्वासन दिएको उनको भनाइ छ । सकेसम्म चाँडै जागिर पाउने आशा रहेको उनले बताए ।

एउटा हात र दुवै खुट्टा नचल्ने उनी ह्वील चेयरको सहायताले हिँडडुल गर्छन् । स्कुटर र ह्वील चेयर चढ्न पनि अरुको सहारा लिनुपर्ने उनी बताउँछन् । हाल स्नातक तेस्रो वर्षमा अध्ययनरत उनी आफू नियमित रूपमा क्याम्पस जाने गरेको बताउँछन् ।

‘मेरो लागि अहिले जागिरको खाँचो छ । बसेर गर्ने काम ८ घण्टासम्म गर्न सक्छु,’ उनले भने, ‘किनकि मलाई केही त गरेर देखाउनु नै छ ।’

man bahadur bhujel  (2)