इटहरीः निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ ।

आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन छ । त्यस्तै, दाङ, बागलुङ र भक्तपुरमा प्रदेशसभा सदस्यको निर्वाचन हुनेछ ।

स्थानीय तहमा धरान उपमहानगरपालिकाका प्रमुखसहित ४६ सदस्यको लागि निर्वाचन हुनेछ । जसमा उमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ४१ वडाध्यक्षको लागि निर्वाचन हुनेछ ।

उपनिर्वाचन मिति घोषणा गर्नुअघि आयोगले १८ दलसँग छलफल गरेको थियो ।