विराटनगरः श्री एयरलायन्सबाट विराटनगर ल्याइएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लार्इ प्रहरीले भोजपुर लगेको छ । आज साढे ११ बजे उनलाई विराटनगर ल्याइएको थियो । त्यसपछि सञ्चारकर्मीका आँखा छल्दै गाडीमा हालेर भोजपुर लगिएको हो ।
उनलार्इ ल्याउने जानकारी पाएपछि विमानस्थल पुगेका सञ्चारकर्मीलार्इ झुक्याउँदै नेपाल आयल निगमको गेटबाट गाडीमा हालेर उनलाई भोजपुर लगिएको हो ।
उनलार्इ हिजो सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । प्रकाण्डलार्इ गत साउन २३ गते कार्यकर्तासँगै काठमाडौंबाट पक्राउ गरिएको थियो । उनीमाथि ७ करोड बराबरको चन्दा असुल गरेको प्रहरीको आरोप छ । प्रहरी स्रोतले प्रकाण्डलार्इ भोजपुर लगिनुमा उनीमाथि लागेका ३ मुद्दा प्रमुख कारण रहेको बताएको छ । प्रहरीका अनुसार जिल्ला अदालतमा उपस्थित गराउन उनलाई भोजपुर लगिएको हो ।
तर सरकारले भने विप्लव नेतृत्वको पार्टीले सैन्य दस्ता तयार पार्न थालेको र त्यसका लागि आवश्यक रकमको जोहो गरेको भन्ने जानकारी पाएसँगै पार्टीका जिम्मेवार नेता कार्यकर्तालार्इ धमाधम पक्राउ गरी मुद्दा चलाइरहेको बुझिएको छ । केही दिन अघि मूलधारका पत्रिकाका सम्पादकसँग कुरा गर्दै प्रधानमन्त्री केपी ओलीले विप्लवका नेता पक्राउ पर्नुमा सैन्य संरचना निर्माण गर्नु र त्यसले मुलुकलार्इ थप जोखिम निम्त्याउनु रहेको बताएका भनी अखबारहरूले समाचार छापेका थिए । सो समाचारअनुसार अहिले सरकार विप्लवले निर्माण गरिरहेको सैन्य दस्तालार्इ निस्तेज पार्ने र आर्थिक स्रोत भत्काउने रणनीतिमा लागेको बुझिएको छ ।