इटहरीः हरितालिका तीजको अवसरमा सुनसरीका महिलाहरूले आफूले उत्पादन गरेका विभिन्न सामाग्रीहरू प्रस्तुत गर्ने भएका छन् ।

इटहरीको दुर्गा पार्टी प्यालेसमा  आगामी सावन ३० गते देखि तिज उत्सव उद्यमशील महिला मेलामा उनीहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गर्ने भएका हुन । यो मेला नेपालको तीजको अवसरमा आयोजित सबैभन्दा ठुलो उपभोक्ता मेला हुने आयोजक रन्जु सिग्देलले बताइन ।

तीन दिने मेलामा महिला उद्यमीहरूले बनाएका सामाग्रीहरू समेटिएका ६० वटा स्टलहरू हुनेछन् । मेलालाई उद्यमशील महिला सङ्घ सुनसरी र वुमन क्रिएटिभ सेन्टर काठमाण्डौले संयुक्त रूपमा आयोजना गरेका छन् भने मेलालाई घरेलु तथा साना उद्योग सुनसरीले सहयोग गरेको आयोजकले बताएको छ । मेलालाई नेपाल पर्यटन बोर्ड, इटहरी उपमहानगरपालिका र रामधुनि नगरपालिकाले पनि सहयोग गरेका छन् ।

मेलाले महिला उद्यमीहरूलाई हौसला दिने र उद्यमशील बन्न प्रेरित गर्ने आयोजकले बताएको छ । आठ लाख बजेटमा कार्यक्रम आयोजना हुने आयोजक उद्यमशील महिला सङ्घ सुनसरी सचिव रन्जु सिग्देलले बताइन ।