बेलबारीः मोरङको बेलबारी नगरपालिका वडा नम्बर –२ मा रहेको रमिते सामुदायिक बन उपभोक्ता समूहले व्यावासयिक रूपमा दूध तथा मासुजन्य पदार्थ उत्पादन गर्नका लागि उपभोक्तालाई घाँस उत्पादन गरिदिएको छ ।

८ हेक्टर क्षेत्रफलमा घाँसको बीउ लगाएको सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष प्रेम राईले बताए । सो समूहका ९० जना उपभोक्तालाई घाँस दिएको राईले बताए । धेरै उपभोक्ताले उन्नत जातको घाँस तथा प्राविधिक सहयोग नभएको भन्दै रैथाने जातका बाख्रा पाल्ने गरेका छन् ।

त्यस्तै, उन्नत जाततर्फ जमुनापारी र बोयर जातका बाख्रा यस क्षेत्रमा पछिल्लो समय पाल्न थालिएको छ । ती जातका बाख्राबाट मासु उत्पादन छिटो हुने भएपछि किसानमा आकर्षण थपिएको हो । बोयर तथा जमुनापारीका लागि जङ्गलमा पाउने रैथाने जातको घाँसभन्दा उन्नत जातका घाँस राम्रो मानिन्छ । एक परिवारका लागि ३ कठ्ठा क्षेत्रफलका दरले घाँसको बीउ वितरण गरिएको अध्यक्ष राईले बताए । उनीहरूले निःशुल्क घाँससमेत पाउने अध्यक्ष राईले बताए ।

नगरपालिकाले समेत बोयर जातका बाख्रा तथा पाठामा जोड दिइरहेका बेला सामुदायिक बनले समेत नगरपालिकाको योजनामा सहयोग गरिरहेका छन् । भ्यु टावर समेत निर्माण गरिरहेको रमितेले पछिल्लो समय उत्पादनमा जोड दिन थालेको छ ।

मासुको बजार भए पनि उत्पादन कम देखिएपछि प्रोत्साहन गर्नका लागि घाँसको बीउ दिएको उक्त बन उपभोक्ता समूहले जनाएको छ । जङ्गल क्षेत्रमा खनजोतदेखि बीउबिजन समेत आफँै खरीद गरेर संरक्षणका लागि घेराबारासमेत गरिएको समितिले जनाएको छ ।

खालि रहेको जग्गामा घाँससँगै विभिन्न प्रजातिका बिरुवा समेत हुर्काइएका छन् । ती बनमा किम्बु, नेपियर, बदामे, भट्मासे, स्टाइलो, जोनभेज लगायतका उन्नत जातका घाँस लगाइएको छ । त्यही घाँस लगाएकै जङ्गलमा साल, सिसौँलगायतका बिरुवा समेत हुर्किइरहेका छन् ।

प्रदेश तथा स्थानीय सरकारको सहयोगमा घाँस उत्पादन गरिएको हो । सो बनले केही समय अघिमात्रै प्राविधिक उत्पादन गर्ने लक्ष्यका साथ १२ जना युवायुवतीलाई पशुचिकित्सकसम्बन्धी आधारभूत तालीम नै दिएको थियो ।

वडाले समेत तालीमहरू दिइरहको वडाध्यक्ष घनश्याम गौतमले बताए । मासु तथा दूध उत्पादनमा जोड दिने खालका कार्यक्रम गर्न विशेष चासो दिएको वडा अध्यक्ष गौतमले बताए ।