बेलबारीः मोरङको लेटाङ नगरपालिका–६ घुम्तीमा आगलागी हुँदा ३ ओटा घर जलेका छन् । घर जल्दा ५० लाख रुपैयाँबराबरको क्षति भएको छ ।

मेषबहादुर बिकको भान्छाघरबाट आज बिहान ५ बजे आगलागी शुरु भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

आगलागीमा परेर बिकको भान्छाघर, डोलप्रसाद मगर र भक्त राईको २÷२ तले काठको कच्ची घर पूर्ण रूपमा जलेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजूका अनुसार आगलागीमा अन्नपात, काठपात, भाँडावर्तन, महत्वपूर्ण कागज, सुन र चाँदीका गरगहना, नगद लगायत जलेको छ ।

नेपाली सेना, नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगो चाँडै नियन्त्रणमा लिन सकेकै कारण आगो अन्यत्र फैलन नपाएको प्रहरीले जनाएको छ । आगलागी भएको स्थान वरपर बाक्लै घर रहेका थिए ।

aglagi 2