पाँचथरः पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि निर्माण गरिएको काबेली करिडोर १३२ केभी प्रशारण लाइन सञ्चालनमा आएको छ ।
आयोजनाको फिदिमदेखि अमरपुर तेस्रो खण्ड सोमबारबाट सञ्चालनमा आएपछि झापाको लखनपुरबाट शुरु भएको ९१ किलोमिटर प्रशारण लाइनको निर्माण पनि सकिएको छ । तेस्रो खण्ड सोमबार साँझ पौने ६ बजेबाट सञ्चालनमा आएको हो ।
आयोजनाको लखनपुर (झापा)– गोदक (इलाम) पहिलो र सोयाक (इलाम)– फिदिम (पाँचथर) दोस्रो खण्ड यसअघि नै सञ्चालनमा आइसकेका छन् । लखनपुर, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२÷३३÷११ केभी सब स्टेसनको निर्माण सम्पन्न भएको हो ।
ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको बाटो ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयास र अनुगमनबाट सम्पन्न गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकायलगायतको निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएको र अब इलाम, पाँचथर र ताप्लेजुङमा जलविद्युत आयोजना निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार पनि तयार भएको घिसिङले बताए ।
निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा खेर जान नदिन उनीहरूको व्यापारिक उत्पादन शुरु (सीओडी) हुने मितिभन्दा पहिले नै प्रशारण लाइनको निर्माण सम्पन्न भएको उनले उल्लेख गरे ।
राइट अफ वेमा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने, रुट परिवर्तन गर्नुपर्ने लगायतका माग राखी इलामको मङ्गलबारे, चमैता, सिद्धिथुम्का र पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयले प्रशारण लाइन निर्माणमा अवरोध गरेका थिए । कार्यकारी निर्देशक घिसिङ गत वर्ष आफैं आयोजनास्थलमा गई स्थानीयसँग छलफल गरी समस्या समाधान गरेका थिए ।
आर्थिक वर्ष २०६३–६४ मा शुरु भएको आयोजना निर्माणका लागि जागुअर ओभरसिज एण्ड एष्टर जेभीले २३ भदौ २०६८ (९ सेप्टेम्बर २०११) मा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता १४ पुनः २०६८ (२९ डिसेम्बर २०११) मा कार्यान्वयनमा आएको थियो । ३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो ।