बेलबारीः मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग चोकमा मङ्गलबार राति भएको आगलागीमा ३ घर जलेका छन् । सुजन राईको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा ५ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । उनको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । उनको १ तले टिनको छाना भएको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

त्यस्तै, छिमेकी कुमार बिकको घर जल्दा ५ लाख र दिलकुमारी लिम्बूको ६ लाख रुपैयाँबराबरको क्षति भएको बेलबारी प्रहरी कार्यालयका प्रमुख गुणराज बुढाथोकीले जानकारी दिए । लिम्बूका ४ ओटा बाख्रा समेत जलेर मरेका छन् । आगो स्थानीय बासिन्दा दमकल र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

सो आगलागीमा परी पीडित भएकालाई बेलबारी नगरपालिकाले राहत वितरण गरेको छ । नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली तथा प्रवक्ता योगेन्द्र सुवेदीले उनीहरूलाई ग्यास चुलो, सिलिन्डर, दाल, चामल, चिउरा, नुन, तेल, त्रिपाल, कम्बल, झुल, भुजा, थालबटुका लगायतका सामग्री प्रदान गरेका छन् । घरमा भएका सामग्री जलेर नष्ट भएकाले तत्काल राहत सामग्री प्रदान गरिएको प्रवक्ता सुवेदीले बताए ।