काँकरभिट्टाः पछिल्लो समय पूर्वी नाकाबाट हुने चोरी निकासी पैठारी नियन्त्रणमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले निगरानी बढाएको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा मेची भन्सार कार्यालय काँकरभिट्टा लक्ष्य असुलीमा असफल भएपछि प्रहरी अवैध रूपमा हुने धन्दा नियन्त्रणमा निकै सक्रियतापूर्वक लागि परेको प्रहरी अधिकारीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमाण्ड सम्हालेलगत्तै प्रहरी नायब उपरीक्षक गोविन्दकुमार कार्कीले अवैध धन्दा पूरै शून्यमा झार्ने प्रतिबद्घता व्यक्त गरेका थिए । प्रहरी नायब उपरीक्षक कार्कीले इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नेतृत्व सम्हालेको करीब २ महिनाको अवधिमा १४ लाख रुपैयाँभन्दा बढीको अवैध सामान पक्राउ गरी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको जानकारी दिए ।
मेचीनगर तथा आसपासका क्षेत्रबाट असार ६ देखि साउन २२ गतेसम्म अवैध रूपमा आयात निर्यात गर्दै गरेको अवस्थामा कुल १४ लाख ३५ हजार ६ सय ७५ रुपैयाँ सरकारी प्रतिवेदन मूल्यअनुसारको सामान पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबैभन्दा बढी १६ असारमा ३ लाख १ हजार रुपैयाँ मूल्य बराबरको सामान पक्राउ गर्न प्रहरी सफल भएको छ ।
सबैभन्दा कम २२ साउनमा ४९ हजार २ सय ५० रुपैयाँ मूल्य बराबरको सामान पक्राउ गरेको प्रहरी निरीक्षक सुभाष खनालले बताए । प्रहरीको तथ्याङ्कअनुसार ६ असारमा २ लाख ९६ हजार ३ सय ८० रुपैयाँ, २६ असारमा ६० हजार ८० रुपैयाँ, ७ साउनमा ९५ हजार १ सय ८० रुपैयाँ, ८ साउनमा ५९ हजार १ सय १५ रुपैयाँ, १४ साउनमा ८० हजार ६ सय रुपैयाँ, १७ साउनमा २ लाख १ हजार ९ सय ७० रुपैयाँ, १९ साउनमा ९९ हजार ७ सय ६० रुपैयाँ मूल्य बराबरको सामान पक्राउ गरिएको थियो ।
सो अवधिमा सुपारी, लत्ताकपडा, मरिच, मटर, इलेक्ट्रोनिक्स सामान, जुत्ताचप्पल, खाद्यान्न सामग्री फलफूललगायतका सामान पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार नगरको नकलबन्दा, बाहुनडाँगी, दुर्गा मन्दिर, ज्यामिरगढी, सतिघट्टा, भान्साखोला, कालिका बगान आसपासलगायतका क्षेत्रबाट साँझपख, बिहान र रातिको समयमा यसमा संलग्नले धन्दा चलाउने गरेका छन् ।