बेलबारीः बलात्कारको घटनालाई मिलापत्र गराउने मोरङको रंगेलीका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । रंगेली नगरपालिका–९ की सुस्त मनस्थितिकी १६ वर्षीया किशोरीमाथि भएको सो अपराधमा मिलापत्र गराउने पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार ६५ वर्षीय रामबहादुर राजवंशी, ७० वर्षीय निमलाल राजवंशी, ६० वर्षीय शेखर गौतम, ३७ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय अभिनव बजगाई, ३३ वर्षीय दिलिप मुर्मू र ३५ वर्षीय सुवास राजवंशी पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ परेका सबैविरुद्ध आजै प्रहरीले जबर्जस्ती करणी मुद्दामै अनुसन्धान अघि बढाउन अदालतबाट ४ दिनको म्याद थप गरेको छ ।

बलात्कारको घटनालाई मिलापत्र गराएर सामसुम पार्ने र लेनदेनमा अपराध टुङ्ग्याउन खोज्ने गाउँका १० जना अगुवामध्ये ७ जना पक्राउ परेका हुन् । मिलापत्रमा संलग्न ३ जना फरार छन् । ३५ वर्षीय गणेशप्रसाद दाहाल, ३४ वर्षीय रेवतबहादुर काफ्ले र ५५ वर्षीय चेतबहादुर मगर फरार छन् । उनीहरुको खोजीका लागि प्रहरीको विशेष टोली खटाइएको छ ।

बलात्कारमा संलग्न ३ जनामध्ये २ जनालाई साउन ३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । तिनै जना पीडकले जनही ५० हजार पीडितलाई दिने गरी मिलापत्र भएको बताइएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार बलात्कारीमध्ये २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारी पक्राउ परेका हुन् ।

पक्राउ परेका विरुद्ध जबर्जस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न २३ वर्षीय सुनील चौधरी भने फरार छन् ।
घटना सार्वजनिक भएपछि गाउँमा स्थानीय अगुवालाई राखेर बोलाइएको विशेष छलफलमा घटना कहीं पनि सार्वजनिक नगर्ने शर्तमा असार २६ गते मिलापत्र गरिएको थियो । भेलामा पीडित पक्षलाई मिल्न दबाब दिँदै मिलापत्र गराएर उपचार खर्चबापत पीडकबाट १ लाख ५० हजार रुपैयाँ दिलाउने उधारो कागज गराइएको थियो । तिनै जनाले साउन ६ गते भित्रमा पीडितलाई ५०–५० हजार रुपैयाँ दिने मिलापत्रमा उल्लेख छ । तर त्यस अघि नै घटना बाहिरिएपछि लेनदेन भने हुन नपाएको र घटनामा संलग्नलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले लामो समयसम्म मिलापत्र गराउनेलाई पक्राउ नगरेका कारण ३ जना फरार रहेको स्थानीयको भनाइ छ । पीडितलाई मिल्न दबाब दिएर गरिएको मिलापत्रको कागजमा १० जनाकै हस्ताक्षर छ । ३ जनाले बलात्कार गरेको पनि मिलापत्रमा उल्लेख गरिएको छ ।