काँकरभिट्टाः झापाको मेचीनगर वडा नम्बर ६ मा २३ ओटा सीसी क्यामरा जडान गरिएको छ । १ नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ती सीसी क्यामराको उद्घाटन गरे ।

उनले प्रहरी र जनताबीचको सम्बन्ध गाढा हुनुपर्ने बताउँदै त्यो सम्बन्धले समाजलाई स्थायित्व दिनुपर्ने, शान्ति सुरक्षा कायम गर्नुपर्ने, अपराध नियन्त्रण गर्नुपर्नेमा विश्वास व्यक्त गरे । प्रविधिले सेवाग्राहीले पाउनुपर्ने सेवाको वृद्घि तथा गुणस्तर कायम गर्ने उनको भनाइ थियो । नगरमा जडान भएको सीसी क्यामराले अपराध नियन्त्रणमा सघाउ पुग्नुका साथै राष्ट्र सेवक कर्मचारीको पनि निगरानी गर्ने हुँदा उनीहरूलाई गलत बाटोमा हिँड्न रोक्ने उनको भनाइ थियो । उनले प्रविधिले कसैलाई नछोड्ने र अपराध गर्ने मानिस पनि सही बाटोमा अघि बढ्ने बताए ।

कार्यक्रममा बोल्दै मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा पर्याप्त जनशक्ति तथा स्रोत साधन नभएकाले यसको व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक ज्ञवालीलाई आग्रह गरे ।

पर्यटन तथा यातायात व्यवस्थापन समितिले मेचीनगर नगरपालिका तथा स्थानीयवासीको जनसहभागितामा मेचीनगरको वडानम्बर— ६ का विभिन्न २३ स्थानमा सीसी क्यामरा जडान गरेको हो । समितिका कोषाध्यक्ष रीता बास्तोलाले १४ लाख २ हजार ५ सय ९३ रुपैयँँको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् ।

cc camera udghatan  (2)