इटहरीः प्रबल जनसेवा पुरस्कार पाउनेहरूको छनोट हचुवामा भएको भन्दै आलोचना भइरहँदा बलात्कार प्रकरणमा निलम्बनमा परेका प्रहरी अधिकृतले पनि उक्त पदक पाएका छन् ।सुनसरी प्रहरी प्रमुख हँुदा किशोरी बलात्कार मिलापत्रको आरोपमा निलम्बनमा परेका एसपी विद्यानन्द माझी राष्ट्रपतिबाट मंगलवार काठमाण्डौमा सम्मानित भएका हुन् ।
धेरै प्रतिष्ठा बोकेको प्रबल जनसेवा श्री पदक पाएका एसपी माझी इटहरीमा भएको एक बलात्कार मिलापत्रमा सहभागी भएको आरोपमा सङ्गठनबाट निलम्बनमा परेका थिए । गत वर्ष पुस १७ गते इटहरीको रोयल रिसोर्टमा भएको किशोरी बलात्कार प्रकरणमा माझीले परिवारलाई दबाब दिएर मिलापत्र गरेको सार्वजनिक भएको थियो ।
सोही प्रकरणमा माझी तत्कालीन इटहरीका प्रहरी निरीक्षक चिरन्जीवि दाहालसँगै निलम्बनमा परेका थिए । बलात्कारको घटना मिलाएर सामसुम पार्न भूमिका खेलेको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयबाट उनी माफी निलम्बनमा परेका थिए ।
बलात्कारको जघन्य अपराध ढाकछोप गर्ने र मिलापत्रमा टुङ्ग्याएर विभागीय कारवाही भोगिसकेका माझीले पदक पाएपछि अधिकारकर्मीहरू असन्तुष्ट भएका छन् ।
महिला सञ्जाल धरानकी अध्यक्ष सबिता राई बलात्कारजस्तो मुद्दामा जोडिएका प्रहरी अधिकृतले राष्ट्रपतिको हातबाट पाउने पदक पाउनु दुर्भाग्य भएको बताउँछिन् । उनी भन्छिन्, ‘पदक दिँदा पृष्ठभूमि नहेरी सिफारिशकै आधारमा दिने देखियो । यो गलत छ ।’