इटहरीः इटहरी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका राष्ट्रिय राजमार्गको भाग ‘क्लियर’ गर्न शुरु गरेको छ । इटहरीको पूर्वी सिमाना बुढीखोला बाट सडकको भाग खोज्दै हिँडेको स्थानीय सरकारले रामधुनी नगरपालिकाको झुम्काको सिमाना सम्म रोड ‘क्लियर’ को काम गर्ने बताइएको छ । नगरपालिकाले यसअघि पटकपटक सडक क्लियर गर्न सूचना जारी गरेको थियो । तर, नगरपालिकाको सूचनालाई व्यवसायीले बेवास्ता गरेपछि नगरले डोजर चलाएर अतिक्रमित सडक ‘क्लियर’ गरेको हो ।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीका अनुसार अहिले ३ वटा डोजरले सडक क्षेत्रमा रहेका निर्माण सामग्री, अस्थायी संरचना आदि हटाइरहेको छ । स्थायी संरचना हटाउने अधिकार भने सडक विभागको भएकाले अहिले स्थायी संरचना नहटाइने उनले बताए । उनका अनुसार सडकको बीच भागबाट साढे ८२ फुटभित्रका निर्माण सामग्री र अस्थायी संरचना हटाइनेछ ।