बेलबारीः ड्युटीमा लापरबाही गरेको आरोपमा इलाका प्रहरी कार्यालय रानीमा कार्यरत तीन प्रहरीमाथि कारबाही शुरु गरिएको छ ।

प्रहरी सहायक निरीक्षक (असई) प्रदीप थापा, हवल्दार धीरेन्द्र मधुवन र जवान सन्तोष तामाङमाथि एकै पटक कारबाहीको प्रक्रिया अघि बढाइएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीको निर्देशनमा जिल्ला प्रहरी कार्यालयमा तानेर कारबाही अघि बढाउन उनीहरूमाथि आवश्यक अनुसन्धान र छानबिन शुरु गरिएको छ ।

उनीहरूलाई मङ्गलबार विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटमा ड्युटीमा खटाइएको थियो । ड्युटीमा लापरबाही गरेको पाइएपछि कारबाही अघि बढाउन आवश्यक छानबिन थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजूले बताए ।

उनले तीनै जनासँग विविध विषयमा बुझ्नुपर्ने भन्दै धेरै कुरा खुलाएनन् । गल्ती प्रमाणित भए तीनै जनामाथि कारबाही गरिने उनको भनाइ छ ।