काँकरभिट्टाः इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतबाट २ जना थुनुवा फरार भएलगत्तै घटनाको बारेमा सत्यतथ्य बुझ्नका लागि दुई छुट्टाछुट्टै छानबिन समितिले काम शुरु गरेको छ ।

गत आइतबार प्रहरी नियन्त्रणमा रहेका बेला कार्यालयको हिरासत कक्षको ताला फोरेर भारतको दार्जिलिङ जिल्ला अल्छिया बजारका २६ वर्षीय गणेश कामती र २९ वर्षीय कृष्ण मण्डल रातको समयमा भागेका थिए । सार्वजनिक मुद्दामा पक्राउ परेका दुवै जना फरार भएपछि घटनाको सत्यतथ्यका लागि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय झापाले छुट्टाछुट्टै छानबिन समिति गठन गरी काम शुरु गरेको बताइएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा तीन सदस्यीय र प्रहरी कार्यालय झापाले प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरी छुट्टाछुट्टै छानबिन शुरु गरेको एक प्रहरी अधिकृतको भनाइ छ । समितिले इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक टीकाबहादुर कार्कीसहित ८ जना प्रहरी कर्मचारीमाथि छानबिन शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

घटना भएको ४ दिन बितिसक्दा हिरासतबाट फरार भएका थुनुवा नभेटिएको उनको भनाइ छ । घटनामा दोषी भएका प्रहरीमाथि विभागीय कारबाही हुने उनले जानकारी दिए । समितिले सीसी क्यामेराको सहयोगमा छानबिन थालेको बताइएको छ ।