काँकरभिट्टाः प्रहरी प्रधान कार्यालयले मुद्दा चलाउन सक्ने अधिकार दिएपछि इलाका प्रहरी कार्यालय धुलाबारीमा त्यसयता १ सय ५८ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन् ।

प्रहरी प्रधान कार्यालयले २०७५ माघ १ गतेदेखि कार्यालयलाई मुद्दासमेत दर्ता गरी थप अनुसन्धान गर्न अनुमति प्रदान गरेको थियो । त्यसअघि हरेक मुद्दा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा दर्ता हुने गरेका थिए ।

कार्यालयको मुद्दा शाखाले दिएको जानकारीअनुसार प्रहरी प्रधान कार्यालयले मुद्दा चलाउन सक्ने अधिकारी दिएको पहिलो ६ महिनामा अघिल्लो आर्थिक वर्ष २०७४÷ २०७५ मा ८८ मुद्दा दर्ता भएका थिए । तीमध्ये ८७ वटा फछ्र्योट भएको प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए ।

कर्तव्य ज्यानसम्बन्धी एउटा मुद्दा अहिलेसम्म अनुसन्धानको क्रममा छ । गत आर्थिक वर्ष २०७५÷ २०७६ मा दर्ता भएका कुल १ सय ५० मुद्दामध्ये १ सय ४ ओटा फछ्र्याेट भएका छन् । बाँकी विभिन्न प्रकारका ४६ वटा मुद्दा चालु आर्थिक वर्ष २०७६÷२०७७ मा सरी आएका छन् ।

गत आर्थिक वर्ष २०७५÷ २०७६ मा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गरेका ३० वटा मुद्दामध्ये १० वटा फछर्याेट भएका छन् । यसैगरी सोही अवधिमा दर्ता भएका ज्यान मार्ने उद्योगका ४, ज्यान मार्ने उद्योग र डाकाका १, दुरुत्साहन ज्यान १, चोरीका ७, ठगीका १, केही सार्वजनिक अपराधका ४, अभद्र व्यवहारका १३, बाधा विरोधका ३ वटा मुद्दा दर्ता भएका थिए । ती सबै मुद्दा फछ्र्याेट भएका छन् ।

विष सेवन गरी आत्महत्या, सवारी भवितव्य ज्यान, लिखत कीर्ते, बोक्सीको आरोप, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध, बहुविवाह, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योगलगायतका मुद्दा दर्ता हुने गरेको छ ।

गत आर्थिक वर्ष २०७५÷ २०७६ मा कार्यालयले ९ महिलासहित १ सय १९ जना प्रतिवादीलाई पक्राउ गरेको कार्यालय प्रमुख प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले बताए । कार्यालयको अभिलेखअनुसार अझै पनि ३० पुरुषसहित ३६ जना फरार प्रतिवादी छन् ।

सबैभन्दा बढी जबर्जस्ती करणीका १५ जना प्रतिवादीलाई कार्यालयले पक्राउ गरेको छ । तीमध्ये मागबमोजिमको धरौटी बुझाउन नसक्दा २ जना तथा अदालतको आदेशले १० जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ३ जना धरौटीमा छुटेका थिए ।

इलाका प्रहरी कार्यालय धुलाबारी अन्तर्गत मेचीनगरको ९ देखि १५ नम्बर सम्मका वडा तथा बुद्घशान्ति गाउँपालिकाको सबै वडा सो कार्यालयको कार्यक्षेत्रका रूपमा पर्दछ ।