फाइल तस्बिर

बेलबारीः प्रहरीले मोरङको लेटाङ नगरपालिका–४ बाट अवैध घरेलु मदिरा ओसारपसारमा प्रयोग गरिएको यात्रुवाहक बस नियन्त्रणमा लिएको छ ।

सवारी जाँचका क्रममा घरेलु मदिरा बोकेको पाइएपछि को १ ख ३०७५ नम्बरको बस र बसचालक झापाको दमक नगरपालिका–९ का ३३ वर्षीय बाबुराम आचार्यलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजूले बताए । उनका अनुसार लेटाङबाट विराटनगरका लागि छुटेको उक्त बसको डिकीबाट एक सय ३५ लिटर घरेलु मदिरा बरामद भएको छ । प्रहरीले सो घरेलु मदिरा कसको हो भन्ने बारेमा केही पनि खुलाएको छैन ।

त्यस्तै, मोरङको इलाका प्रहरी कार्यालय रङ्गेली र दोमनाको संयुक्त टोलीले आज नै एक सय ७० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । बेबारिसे अवस्थामा मदिरा बरामद भएको डीएसपी खिउजूले बताए । नियन्त्रणमा लिइएको मदिरा एवं बस र पक्राउ परेका चालकलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइएको उनले जानकारी दिए ।