भोजपुरः नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई आज जिल्ला अदालत भोजपुरमा उपस्थित गराइएको छ ।
ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी मुद्दा उनीमाथि लागेको छ । उनलार्ई बिहान साढे ११ बजे बयानका लागि जिल्ला प्रहरी कार्यालयबाट अदालतमा लगिएको अदालत स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका उनलाई तुरुन्तै काठमाडौं प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनलाई हवाइ मार्गबाट विराटनगर ल्याई त्यसपछि स्थलमार्गबाट राति ११ बजे जिल्ला प्रहरी कार्यालय भोजपुर पु¥याइएको थियो । अहिले उनीमाथि बयान चलिरहेको जिल्ला अदालत भोजपुरले जनाएको छ ।
भोजपुरको प्रदेश ‘ख’ का तत्कालीन एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार शेरधन राईलाई लक्षित गरेर ट्याम्केमैयुङमा उनले बम बिस्फोट गराएको आरोप छ । गत कात्तिक २८ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि गोगनेतर्फ जाने क्रममा राईलाई लक्षित गरी बम प्रहार भएको थियो ।
सो विष्फोटमा राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक डिल्ली देवकोटा घाइते भएका थिए । राई सवार बा १५ ज ५६०८ नम्बरको जीप विष्फोटमा परेर क्षतिग्रस्त बनेको थियो । यसअघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्दा चलाइएको थियो ।