इटहरीः  ११ दिन अगाडि सङ्घीय सरकारले स्थानीय तहको उपनिर्वाचनको मिति तोक्यो । स्थानीय सरकारमा रहेर विभिन्न कारणले रिक्त रहेका जनप्रतिनिधिहरूको स्थानमा पुनः नयाँ जनप्रतिनिधि चुन्नको लागी सरकारले मङ्सिर १४ मा उपनिर्वाचन तोकेको छ ।

प्रदेश १ का विभिन्न ३ स्थानीय सरकारका प्रमुख र ५ जना वडाअध्यक्षले ज्यान गुमाएका छन् । ज्यान गुमाएका जनप्रतिनिधिहरूको कारणले रिक्त स्थानीय तहमा चुनाव हुन लागेको हो । प्रदेश १ का सङ्खुवासभा, भोजपुर, सुनसरी,मोरङ र पाँचथरका विभिन्न ८ स्थानमा चुनाव हुने भएको छ ।

प्रदेश १ का विभिन्न ८ जना जनप्रतिनिधिहरू गुमाएका ७ स्थानीय तहमा चुनाव हुने भएको छ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर र वडा नम्बर ७, सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष, भोजपुरको पौवादुङमा गाउँपालिका १, मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २, पाँचथरको फाल्गुननन्द गाउँपालिका अध्यक्ष, हिलिहाङ गाउँपालिका वडा नम्बर ७ र फिदिम गाउँपालिका वडा नम्बर १ मा अध्यक्षको लागी चुनाव हुने भएको छ ।

प्रदेश १ ले कुन दिन कुन जनप्रतिनिधि गुमायो?

– २०७४ पुस ३०ः मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल
– २०७४ चैत १६ः हिलिहाङ गाउँपालिका ७ का वडा अध्यक्ष तीर्थराज तिम्सिना
– २०७५ जेठ २ः धरानको वडा नम्बर ७ का अध्यक्ष भुवन मोक्तान
– २०७५ जेठ २४ः धनपालथान गाउँपालिका २ का अध्यक्ष बलिराम भगत
– २०७५ सावन १ः धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा
– २०७५ माघ २६ः फाल्गुननन्द गाउँपालिका अध्यक्ष अमर बहादुर नेम्बाङ
– २०७६ सावन ६ः फिदिम नगरपालिका १ का वडा अध्यक्ष हर्क मोक्तान
– २०७६ सावन १८ः पौवादुङमा गाउँपालिका १ का वडा अध्यक्ष रुद्रबहादुर पान्डे