धरानः बचतकर्ताको करोडौँ रुपैयाँ लिएर फरार भएका भनिएका धरानको सल्लरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बिकलाई प्रहरीले बुटवलमा कोठा भाडामा लिई बसेको अवस्थामा पक्राउ गरेको छ ।

बचतकर्ताले करोडौ रकम ठगी गरेको भनेर दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धरानले उनलाई पक्राउ गरेको जनाएको छ । धरानमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्दै उनको कोठाबाट सुनजस्तो देखिने धातु १४ तोला र चाँदीजस्तो देखिने धातु २४ तोला तथा १ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । उनी साउन २८ गते साँझ साढे ५ बजे पक्राउ परेका थिए ।

उनीविरुद्ध ६ करोड ३ लाख २० हजार ६ सय ६५ रुपैयाँ माग दाबीसहित ८५ जना बचतकर्ताले उजुरी दिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले बताए । उनलाई म्याद थप गरी अनुसन्धान गरिरहेको तथा सहकारीको रकम हिनामिना गरेको भनी उजुरी परेकाले सोहीबमोजिम अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीले यसअघि उनका छोरा तथा सो सहकारीका प्रबन्धक मोहन दर्नाल र लेखापाल कमलादेवी बिकलाई पक्राउ गरिसकेको छ ।
शिखर सगरमाथा ज्वेलरी धरानका सञ्चालकसमेत रहेका बिक असार २३ गतेदेखि सम्पर्कविहीन भएका थिए । बेपत्ता रहेकै अवस्थामा उनको नाममा रहेको घर असार २७ गते बिक्री भएपछि बचतकर्ताले थप शङ्का व्यक्त गरेका थिए ।