इटहरीः आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सातै प्रदेशका सहइन्चार्जसहित केन्द्रीय कार्यालयका सचिवसमेत तोकेको छ ।

सातै प्रदेशमा थप दुई÷दुईजना सहइन्चार्ज तोकेको छ । यसअघिनै सात प्रदेशमा एक एक सह इन्चार्ज चयन भइसकेका छन् । अब प्रत्येक प्रदेशमा ३÷३ सहइन्चार्ज भएका छन् ।
नयाँ जिम्मेवारीअनुसार अधिकांश मन्त्रीलाई सम्बन्धित मन्त्रालयकै विभाग प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य नरहेका तर मन्त्री भएकाले पनि सम्बन्धित मन्त्रालयकै विभाग प्रमुख बनाइएको छ ।

१ नम्बर प्रदेशबाट जिम्मेवारी पाउनेहरू
पर्यटन मन्त्री योगेश भट्टराई पर्यटन प्रवद्र्धन तथा नागरिक उड्ययन विभागका प्रमुख भएका छन् । पूर्व सभामुख सुवास नेम्वाङले सङ्घीय संसदीय विभागको प्रमुखको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सामान्य प्रशासन विभागको प्रमुखको जिम्मेवारी पाउँदा पूर्व प्रधानमन्त्री झलनाथ खनाल नीति अनुसन्धान प्रतिष्ठानको संयोजक भएका छन् ।

पर्शुराम मेघी गुरुङले जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागको उपप्रमुखको जिम्मेवारी पाएका छन् । गुरु बराल राजकीय मामला तथा सुशासन विभागका उपप्रमुख भएका छन् । सुरेन्द्र कार्की विदेश मामला विभागका उपप्रमुख भएका छन् ।

प्रदेश १ को प्रदेश कमिटी सहइन्चार्जमा नरेश खरेल र शेरधन राई थपिएका छन् ।