बिर्तामोडः झापाको बिर्तामोडमा कपडा बैंक स्थापना भएको छ । महिला उद्यमी सङ्घ झापा, रोटरी क्लब अफ बिर्तामोड र देवी पञ्चकन्या मर्निङ वाक ग्रुपको अगुवाइमा बिर्तामोडमा कपडा बैंक स्थापना भएको हो ।

पुराना कपडा सङ्कलन तथा वितरण गर्ने उद्देश्यले कपडा बैंक स्थापना गरिएको कार्यक्रमका संयोजक सुरेशकुमार वंशलले पत्रकार सम्मेलन गरी जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका मानिसलाई कपडा उपलब्ध गराउने उद्देश्यले कपडा बैंकको स्थापना गरिएको वंशलले बताए ।

घरमा प्रयोग नभएका लत्ताकपडा सङ्कलन गरी कपडा बैंकमा प्रदान गर्न उनले आह्वान समेत गरेका छन् । विपन्न समुदायका नागरिकलाई ती कपडा निःशुल्क वितरण गरिने बताइएको छ । ‘मानवताको सेवा नै मनुष्य जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल नाराका साथ कपडा बंैक स्थापना गरिएको उनीहरूको भनाइ छ ।

महिला उद्यमी सङ्घ झापाकी अध्यक्ष गोमा भट्टराईले घरमा प्रयोग नभएका कपडा निःशुल्क रूपमा बैंकको वितरण कक्षमा उपलब्ध गराइदिन आग्रह गरेकी छिन् । विशेष गरेर जाडो मौसम नजिकिँदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट बेहोर्नु नपरोस् भन्ने उद्देश्य रहेको भट्टराई बताउँछिन् ।

कपडा बैंकको उद्घाटन भदौ ३ गते एक कार्यक्रमको आयोजना गरी गरिने जनाइएको छ । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ बिर्तामोडमा अध्यक्ष कुमार भट्टराई, देवी पञ्चकन्या मर्निङ वाक ग्रुपका अध्यक्ष मदनगोपाल सुब्बा, रोटरी क्लब अफ बिर्तामोडकी अध्यक्ष निकिता गिरीलगायतले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।