इटहरीः सर्वोच्च अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाललाई तत्काल बर्खास्त नगर्न अन्तरिम आदेश जारी गरेको छ । बिनाकारण आफूलाई हटाइएको भन्दै खनालले सर्वाेच्चमा दायर गरेको रिटको सुनुवाइको क्रममा सो आदेश जारी भएको हो ।

सरकारले गरेको बर्खास्तको निर्णयलाई तत्काल लागू नगर्नू भनी सर्वाेच्चले अन्तरिम आदेश दिएको हो । उनी अघिल्लो सरकारको पालामा माओवादीको कोटाबाट ५ वर्षका लागि प्रतिष्ठानको शिक्षाध्यक्षमा नियुक्त भएका थिए । वर्तमान सरकारले गरेको नीतिगत निर्णयका आधारमा उनी बर्खास्तमा परेका थिए ।

‘सरकारले सबैलाई सोलोडोलो बर्खास्त गर्ने निर्णय गर्यो । तर आफूलाई अन्याय परेको महसुस गरेर अदालत गएँ’, खनाल भन्छन्, ‘सर्वोच्चले पूर्ण रूपमा सरकारको निर्णयको पुनरावलोकन गर्छ भन्ने विश्वासमा छु ।’ डा. खनाल शिक्षाध्यक्ष हुनुअघि प्रतिष्ठानको उपनिर्देशक भइसकेका व्यक्ति हुन् ।

प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुख समेत रहेका डा. खनाल प्रतिष्ठानको स्थापना कालदेखिका कार्यरत चिकित्सक हुन् । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रमप्रसाद श्रेष्ठको पदावधि सकिएपछि डा. खनाललाई शिक्षाध्यक्षमा नियुक्त गरिएको थियो ।