बेलबारीः १ नम्बर प्रदेश सरकारले १ हजार २ सय बेरोजगार युवाहरूलाई रोजगारी दिने लक्ष्यका साथ लगाएको रोजगार मेलाबाट ५ सयभन्दा बढीको रोजगारी सुनिश्चितता भएको छ ।

५ सय ६७ जनाले विभिन्न उद्योगमा तालीम लिएर काम गर्ने तयारीमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सुनसरी– मोरङ औद्योगिक करिडोरसहित प्रदेश १ मा रहेका उद्योगधन्दा तथा विभिन्न सङ्घ संस्थाका लागि १ हजार २ सय जनशक्ति पूर्तिका लागि रोजगार मेला आयोजना गरेको थियो ।

उक्त मेलामा ५ हजार ६८ जनाले रोजगारीका लागि फर्म भरेका थिए । ‘प्रदेशको समृद्धिका लागि रोजगारीको अभियान’ मूल नारा दिएर शुरु गरिएको रोजगार मेलाका लागि असार १७ देखि २४ सम्म युवाहरूले फर्म भरेका थिए ।

मेलामा प्रदेशमा रहेका बेरोजगार तर श्रम गर्न चाहने दक्ष जनशक्ति र रोजगारदाताको प्रत्यक्ष भेट भएर रोजगारी लिन दिन थालिएको मन्त्रालयका शाखा अधिकृत षडानन्द भट्टराईले बताए । उनका अनुसार १२ कक्षासम्म अध्ययन गरेका र प्रशासनिक कामका लागि फर्म भर्ने धेरै रहेका थिए । अहिले रोजगारी पाउनेहरू उद्योग धन्दामा काम गर्नेहरू रहेको भट्टराईले बताए । रोजगारीका लागि छनोट भएकाहरू समेत कामका लागि नआएको उनले बताए ।

मन्त्रालयले रोजगार मेलामा मेकानिकल अपरेटर, मिलिङ, कास्टिङ, बेभिङ, शिक्षक (अङ्ग्रेजी, गणित, नेपाली), टरबाइन अपरेटर, इलेक्ट्रिक्स ओभरसियर, सुपरभाइजर, टेक्निसियन, सेफ, कुक, सेक्युरिटी गार्ड, म्यानेजर, स्टाफ नर्स, लेखापाल, प्लम्बर र प्रशासनजस्ता क्षेत्रलाई प्राथमिकतामा राखे पनि केहीमा मात्रै फर्म भरेका थिए । मन्त्रालयका अधिकारीहरूका अनुसार सेक्युरिटी गार्ड, धागो उद्योगलगायत केही उद्योगहरूमा मात्रै कामदार आएका छन् ।

सङ्घीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्म गरेसँगै प्रदेश सरकारले समेत रोजगार मेलाको आयोजना गरेको थियो । पछिल्लो समय विभिन्न सङ्घ संस्थाहरूले समेत रोजगार मेलाको आयोजना गरिरहेका छन् । लायन्स क्लब तथा अन्य सामाजिक सङ्घ संस्थाहरूले समेत मेला लगाएर रोजगार दाताहरूसँग बेरोगार युवाहरूको भेट गराइदिने गरेका छन् ।