बेलबारी: उत्तरी मोरङका जनतालाई सहज सेवा प्रदान गर्ने उद्देश्यले विराटचोकमा करदाता कार्यालय खुले पनि बैंकिङ सेवा भने छिमेकी नगरपालिकाबाट लिन सेवाग्राही बाध्य भएका छन् ।
कार्यालयमा बुझाउनुपर्ने कर दस्तुर भने छिमेकी नगरपालिका बेलबारी र उर्लाबारीमा बुझाउन सेवाग्राही बाध्य भएका छन् । बैंकको शहरका रूपमा विराटचोक चिनिए पनि त्यहाँका बैंकहरूलाई मान्यता नदिँदा बेलबारी जान सेवाग्राही बाध्य भएका हुन् ।
५ वटा नगरपालिका र ३ वटा गाउँपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले सो कार्यालय खोलिएको हो । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले बैंकमा दस्तुर जम्मा गरेर सो भौचर कार्यालयमा बुझाएपछि मात्रै काम हुने गरेको सेवाग्राही बताउँछन् ।
छिटो छरितो सेवा दिनका लागि कार्यालय खुले पनि विराटचोकमा रहेका बैंकलाई मान्यता नदिँदा समस्या भएको उद्योग वाणिज्य सङ्घ कोशीहरैंचाका अध्यक्ष नवराज चापागाईंले बताए ।
‘विराटचोकमै २ दर्जन जति बैंक रहेका छन्’, अध्यक्ष चापागाईंले भने कुनै बैंकलाई मान्यता दिए सेवाग्राहीले सेवा पाउने थिए ।’
यता आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख दिलीपकुमार गौतमले केही दिनभित्रै विराटचोककै बैंकलाई राजस्व सङ्कलनका लागि अनुमति दिने बताए ।
कार्यालय खुलेसँगै सुन्दरहरैंचा, बेलबारी, लेटाङ, पथरी, उर्लाबारी नगरपालिका तथा केराबारी कानेपोखरी र मिक्लाजुङ गाउँपालिकाका करदाताहरू लाभान्वित हुने कार्यालयले जनाएको छ ।
सुन्दरहरैंचामा मात्र ३ हजार ७ सय ९५ जना करदाता रहेको वाणिज्य सङ्घको तथ्याङ्क रहेको छ । थप १ एक हजार २ सय करदाता थपिने कार्यालयको अनुमान छ । सो कार्यालयको भदौ १८ गते अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका थिए ।