विराटनगरः सुनसरी मोरङ औद्योगिक कोरिडोरका व्यवसायीले राज्यको उपेक्षाका कारण उद्योगधन्दा धराशायी बनेको गुनासो गरेका छन् । सरकारले रोजगारी बढाउने कार्यक्रम ल्याए पनि उद्योग बन्द हुँदै जान थालेपछि हजारौँ मजदुरले काम छाड्नुपर्ने बाध्यता रहेको विराटनगरका व्यवसायीले गुनासो गरेका छन् ।

पूर्व सांसद समेत रहेका विराटनगरमा व्यवसायी पवनकुमार सारडाले मुलुकको आन्तरिक दन्द, अस्थिर राजनीति, बन्द हडताल र लोडसेडिङसँग जुधेका व्यवसायी हाल आएर उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको गुनासो पोखे । ‘हरेक ठाउँमा फरक फारक कानुन बनाएको छ, यस्तो अवस्थामा कसरी उद्योग चलाउने’ शारडाले भने ‘हामीलाई त उद्योग चलाएर अपराध गरे जस्तो महसुस भइरहेको छ ।’ उनका अनुसार गत आर्थिक वर्षमा मात्र सुनसरी उद्योग कोरिडोरमा दर्जन बढी उद्योग बन्द भइसकेका छन्, जसका कारण हजारौँले रोजगारी गुमाएका छन् ।

तीनै तहका सरकारको असन्तुलित करनीति, विद्युत्को असन्तुलन, व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोणमा कमजोरी लगायतले उद्योग क्षेत्र अस्तव्यस्त बन्दै गएको सारडाको गुनासो छ ।

यस क्षेत्रमा मात्र करिब साढे ६ सय उद्योगहरू रहेका छन् । जसमा ठुलो लगानीमा मात्रै १ सय ५० उद्योगहरू रहेका छन् । जसमा ५० हजार व्यक्तिले नियमित रोजगारी पाइरहेका छन् । यो रोजगारीकाे दर हरेक साल घट्दै जाने व्यवसायीको भनाई छ ।