इटहरीः बलात्कार प्रकरणमा निलम्बनमा परेका तत्कालीन सुनसरी प्रहरी प्रमुख विद्यानन्द माझीले प्राप्त गरेको प्रबल जनसेवा पदक फिर्ता गर्नुपर्ने आवाज उठेको छ । उनी सम्मानित भएसँगै सरकारको आलोचना शुरु भएको छ ।

सुनसरी प्रहरी प्रमुख हुँदा इटहरी– २० तरहराकी एक किशोरीको बलात्कार घटनामा पीडितलाई पीडकसँग मिलापत्र गर्न भूमिका खेलेको भन्दै गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो । तिनै माझी मङ्गलबार राष्ट्रपतिबाट सम्मानित भएका थिए । बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउने प्रहरी अधिकृतलाई गरिएको सम्मानले लज्जित तुल्याएको भन्दै चौतर्फी विरोध हुन थालेको छ ।

प्रदेश नं १ का प्रदेश सांसद बिन्द्या कार्कीले अपराधकर्ममा संलग्नलाई सम्मान गर्नुले कानुनी राज्यको उपहास भएको बताइन् । राष्ट्रपतिजस्तो गरिमामय पदमा आसीन महिलाबाट नै भएको यो सम्मानले सम्पूर्ण महिलाको शिर झुकाएको उनले टिप्पणी गरिन् । बलात्कार र महिला बेचबिखनजस्ता अपराध बढिरहेको बेला राष्ट्रपति चुप लाग्न नहुने उनको भनाइ छ । साथै विवादित व्यक्तिले पाएको पदक फिर्ता गराउन सरकारले भूमिका खेल्नुुपर्नेसमेत कार्कीको माग छ । ‘त्यस्ता अपराधीले पाएको पुरस्कार जुनसुकै हालतमा फिर्ता गरिनुपर्छ’ उनले भनिन् ।

त्यस्तै, नेपाली काङ्ग्रेसकी युवा नेतृ लक्ष्मी खतिवडाले पनि पूर्ववर्ती सरकारले गरेको निर्णय पुनर्विचार नगरी सम्मान गरिनु कानुनी राज्य र लोकतन्त्रप्रतिको उपहास भएको उनको तर्क छ ।
‘कम्तीमा यस्ता अपराधीले पाएको सम्मान सच्याइनु पथ्र्याे जुन हुन सकेन । अब जुनसुकै हालतमा फिर्ता गरिनुपर्छ,’ उनी भन्छिन्, ‘बलात्कार कुनै आवेशमा हुन सक्ला, तर उन्मुक्ति दिने काम योजनाबद्ध हुन्छ । त्यसैले यस्ता अपराधीलाई सम्मान गर्नुले लज्जित बनाएको छ ।’
यो घटनाको विषयमा महिला अधिकारकर्मीहरू समेत असन्तुष्ट देखिएका छन् । अधिकारकर्मी योसा गुरागाईले सरकारको कदमप्रति आक्रोश व्यक्त गरिन् । उनले भनिन्, ‘एकातिर बलात्कारका घटना बढ्दैछन्, अर्कातिर सोही प्रकृतिका घटनामा संलग्नलाई जोगाउने व्यक्ति सरकारद्वारा सम्मानित हुँदैछन् । यसले सरकारको भूमिकाप्रति नै प्रश्न उठाएको छ ।’

महिला सञ्जाल धरानकी अध्यक्ष सबिता राई यो सम्मान दुर्भाग्यपूर्ण भएको र यस्ता पदक दिँदा पृष्ठभूमि नहेरी सिफारिश गरिएको बताउँछिन् । यो गलत कार्यको जति शब्दमा निन्दा गरे पनि कम हुने भन्दै पदक फिर्ता गर्नु नै बुद्धिमानी हुने उनले बताइन् ।

त्यस्तै, महिला अधिकारकर्मी सावित्री सुवेदी बलात्कारी जोगाउनेहरू सँगै सम्मानित हुनेहरूको अवस्था कस्तो होला भनेर प्रश्न गर्छिन् । ‘यो कुनै घटना मात्र होइन योजनाबद्ध कार्यक्रम हो । त्यसैले यस्ता कार्यक्रमको बारेमा राज्य गम्भीर हुनुपर्छ ।’
बलात्कारको घटना छानबिन गर्नुको साटो सरकार महाबलात्कारीलाई सम्मान गर्दै हिँडिरहेको भन्दै उक्त कार्य निन्दनीय भएको र यसको विरुद्ध सडक तताउनुुपर्ने उनको भनाइ छ ।

प्रतिष्ठित पदकमध्येको एक प्रबल जनसेवाश्री पदक पाएका एसपी माझी गत वर्ष पुस १७ गते इटहरीको रोयल रिसोर्टमा भएको किशोरी बलात्कार प्रकरणमा विवादमा मुछिएका थिए । माझीले पीडित परिवारलाई दबाब दिएर मिलापत्र गरेको सार्वजनिक भएको थियो ।