इटहरीः आफ्नो क्षेत्रभित्र रहेका राष्ट्रिय राजमार्ग साँघुरो बन्दै गएपछि ती सडकको भाग ‘क्लियर’ गर्न इटहरी उपमहानगरले शुरु गरेको छ । सडकभित्रै स्थायी र अस्थायी प्रकृतिको संरचना बनाएर व्यावसायिक क्रियाकलाप हुन थालेपछि उपमहानगरले सडककोे भाग खोज्न थालेको हो ।

सडक अस्तव्यस्त भएको गुनासो आउन थालेपछि नगरपालिकाले बाटोमा रहेका संरचना हटाउन तदारुकता देखाएको हो । नगरपालिकाले यसअघि पटकपटक सडक ‘क्लियर’ गर्न सूचना जारी गरेको थियो । तर, नगरपालिकाको सूचनालाई व्यवसायीले बेवास्ता गरेपछि नगरले डोजर चलाएर अतिक्रमण भएको सडक ‘क्लियर’ गर्न थालेको हो ।

उपमहानगरले ७ दिने सूचना जारी गरी सडक अतिक्रमण गरेर बनाइएका टहरा, पर्खाल, थुपारिएको निर्माण सामग्री, ग्यारेज, घुम्ती पसल आदि हटाउन अनुरोध गरेको थियो । ‘तर कसैले सूचनाअनुसारको काम नगरेपछि डोजर नै चलाउन बाध्य भयौँ’, मेयर द्वारिकलाल चौधरी भन्छन्, ’अब यो अभियान इटहरी क्षेत्रको पूर्व पश्चिम राजमार्ग र कोशी राजमार्गको वास्तविक चौडाइमा आएपछि मात्र रोकिन्छ’ ।

स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घ र नागरिक समाजको अगुवाइमा बुधबारदेखि सडक आसपासमा बनेका संरचना डोजर लगाएर भत्काउन थलिएको हो । १ हप्तामा सबै संरचना हटाइसकिने अनुमान रहेको बताइएको छ ।
सो अभियानमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरीको पूर्वी सिमाना बुढी खोलादेखि पश्चिम सिमाना झुम्कासम्म ‘क्लियर’ गरिने छ भने कोशी राजमार्गको दक्षिणी सिमाना दुहबीबाट उत्तरमा चारकोशे झाडीसम्म सडकको भाग खोजिने छ ।

३ वटा डोजरले सडकको बीच भागबाट साढे ८२ फुटभित्रका निर्माण सामग्री र अस्थायी संरचना तथा बाटोको क्षेत्रमा रहेका निर्माण सामग्री हटाउने चौधरीले बताए । स्थायी संरचना हटाउने अधिकार भने सडक ऐन २०३१ अनुसार सडक विभागको भएकाले अहिले स्थायी संरचना नहटाइने नगरपालिकाले जनाएको छ ।

इटहरीको बुढी खोलाबाट शुरु भएको राष्ट्रिय राजमार्गको बाटो खोज्ने क्रममा पहिलो दिन ५ सय मिटर रोड ‘क्लियर’ गरिएको चौधरीले बताए