बेलबारीः मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यालयको नवनिर्मित भवनमा ठेकेदारले आफैँ ताला लगाएका छन् । सोमबार ठेकेदार विश्वनाथ अधिकारीले आफैँले बनाएको कार्यालयमा ताला लगाएका हुन् ।

निर्माण सम्पन्न भइसक्दा समेत कार्यालयले सम्झौताअनुसारको रकम नदिएको भन्दै उनले ताला लगाएका हुन् । २०७४ जेठ २२ गते सिम्लेश्वर विलडर्स काभ्रेस्थली काठमाडौं (तारकेश्वर नगरपालिका –२) ले उक्त भवन निर्माणको ठेक्का पाएको थियो ।

‘मैले काम शुरु गर्दा इञ्जिनियर राजेश कुशवाहाले भवनको नक्सा तथा इस्टिमेट गरिदिएका थिए’, अधिकारीले भने, ‘सोहीअनुसार काम गरेपछि नक्साअनुसारको उनले इस्टिमेट गरिदिएनछन् । काम सकेर पैस माग्दा इस्टिमेट नै नभएको काम गरेको भन्दै कार्यालयले ८ लाख रुपैयाँ नदिएको हो ।’

७६ लाख ९० हजार रुपैयाँमा निर्माण सम्झौता भए पनि कार्यालयले ६९ लाख मात्रै दिएको उनले बताए । उनले इञ्जिनियर परिवर्तन भएकाले समेत आफूले समस्या भोग्नुपरेको बताए । अधिकारीका अनुसार इस्टिमेट गर्दा कुसवाहाले गरेका थिए भने बीचमा कृष्ण देवले भवनको रेखदेख गर्ने जिम्मा पाएका थिए ।

कुशवाहा राष्ट्रिपति चुरे तराई मधेश संरक्षण विकास कार्यालयमा काम गर्थे । देव पथरी नगरपालिकाका इञ्जिनियर हुन् । नक्सा अनुसारको काम गर्दा समेत कार्यालयका कर्मचारीले दःख दिएको उनले बताए । पूरा भुक्तानी नभएका कारण कामदारलाई समेत पैसा दिएका छैनन् ।

ठेकेदार अधिकारीले कार्यालयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा समेत उजुरी दिएको बताएका छन् । उनले सो भवन निर्माण गरेर कार्यालयलाई हस्तान्तरण समेत गरेका छैनन् ।

यता, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटारका लेखा अधिकृत उद्धव घिमिरेले भने ठेकेदार अधिकारीले पाउने पैसा सवै पाइसकेको बताए । प्राविधिकको मूल्याङ्कनका आधारमा सबै पैसा दिइसकेको उनको भनाइ छ ।