धरानः रोजगारी लगाइदिने भन्दै ठगी गर्ने १ जना सहित इलाका प्रहरी कार्यालय धरानले ३ जनालाई पक्राउ गरेको छ ।
विभिन्न कम्पनी तथा सपिङ मलमा रोजगारी लगाइदिने प्रलोभन देखाउँदै रकम असुल्ने गरेको आरोपमा सप्तरी जिल्लाको सुरुङ्गा– ५ स्थित कुशाहा बस्ने मोहम्मद सरिफ मियाँ पक्राउ परेका छन् । रोजगारी लगाई दिएबापत १३ हजार देखि १५ हजार रुपैयाँसम्म शुल्क लाग्ने भन्दै आइएमई मार्फत् पैसा पठाउन लगाउने गरेको आरोपमा सप्तरीको सुरुङ्गाका ३ जनाले उजुरी दिएका थिए ।
उनलाई धरानबाट पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । मियाँले अन्यलाई पनि ठगी गरेको भए प्रमाणसहित इलाका प्रहरी कार्यालय धरानमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।
त्यसैगरी रातको समयमा घरमा पसी चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मोबाइल, नगद, सुनचाँदी लगायत अन्य जिन्सी सामान चोरी गरेको आरोपमा प्रहरीले धरान–१५ का उमेश मगर र विजय बिकलाई पक्राउ गरेको हो । बिकको कोठाबाट चोरी गरिएका धनमालसहित मोबाइल, सुनका गरगहना प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत सुनसरीमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।