इटहरीः कोशी पारीको उदयपुरको बेलका नगरपालिकाले गरीबलाई चामल दिन्छ । बाह्रै महिना खान नपुग्नेलाई प्रतिव्यक्ति मासिक १५ किलो चामल, ५ किलो दाल, १ किलो चिनी दिन्छ ।
आफ्नो उत्पादनले ३ महिनाभन्दा कम समय मात्रै खान पुग्नेका छोराछोरीलाई स्कुलमा खाजा दिन्छ । हाल ४२ वटा स्कुलका ५ हजार हाराहारीका विपन्न विद्यार्थीले बेलका नगरपालिकाले दिने खाजा खान्छन् ।
सो नगरमा बाह्रै महिना खान नपुग्नेहरू १५ जना छन् । उनीहरूले बेलका नगरपालिकामा मेयर दुर्गा थापा आएपछि चामल, दाल, चिनी आदि पाउन थालेका छन् । यसरी अन्त कतै नसुनिएको काम विपन्नलाई चामल बाँड्ने गरेका मेयर थापालाई प्रदेश पोर्टलले सोध्यो, ‘सबैलाई चामल र खाजा बाँड्न थालेपछि कसरी पुग्छ ?’
यसमा मेयर थापाले तत्काल जवाफ फर्काए, ‘एउटा अतिथि सत्कारमा १० हजारसम्म खर्च हुन्छ जबकि यो रकमले त धेरै गरीबलाई मासिक भोजन गर्न पुग्छ ।’ आफू कम्युनिष्ट पार्टीको कार्यकर्ता भएरै मेयर भएकाले गरीबलाई हेर्नैपर्ने मेयर थापा बताउँछन् । उनी भन्छन्, ‘कम्युनिष्ट मेयरले जनता भोको राख्नुहुन्न ।’