इटहरीः गत सावन ३०, ३१ र ३२ गते इटहरीमा ‘तिज सिर्जनशिल उद्यमी मेला’ भएको थियो । नेपाल उद्यमशील महिला संघ सुनसरीको आयोजनामा भएको कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले गरेकी थिइन । मेलामा प्रदेशभरका विभिन्न उद्यमी महिलाहरूका उत्पादनहरूको प्रदर्शन र व्यापार भएको थियो ।

साहित्य उत्सव, नृत्य प्रतियोगिता, मोटिभेसनल सेमिनार देखी फेसबुक फोटो प्रतियोगिता समेत भएको कार्यक्रममा आयोजकले ५८ हजार एक सय नाफा गरेका छन् । अब यो नाफा संस्थाको खातामा नराखेर अर्को सामाजिक काममा प्रयोग गर्ने नेपाल उद्यमशील महिला सङ्घ सुनसरीले बताएको छ । अध्यक्ष यशोदा कायस्थका अनुसार नाफाको आधा रकम सुनसरीका विपन्न महिलाहरूलाई महिनावारि (मेन्स्च्युरेसन पिरियड) हुँदा आवश्यक सेनिटरि प्याड बनाउने तालिम दिन खर्च हुनेछ ।

तिज सिर्जनशिल उद्यमी मेलाकी संयोजक तथा संघकि सचिव रन्जु सिग्देलले तिजको नाफा जितियामा खर्च गर्ने बताइन । उनले भनिन, ‘नेपाली महिलाको महान् चाढ तिजको नाफा अब थारु समुदायले मनाउने महान् नेपाली चाढ जितियाको अवसरमा सेनिटरी प्याड बनाउने तालिममा खर्च हुनेछ ।’

संघका अनुसार ८१ वटा स्टल रहेको तीन दिने मेगा मेलामा ५ लाख ४० हजार ५ सय खर्च भएको थियो । आज इटहरीको धरान लाइनको होटेल रोजमेरीमा भएको पत्रकार सम्मेलन मार्फत संघले यस्तो जानकारी दिएको हो ।