इटहरीः साताभर हरियो बनेको नेप्से सूचक साताको अन्तिम कारोबार हुने दिन बिहीबार भने रातो र हरियो हुने क्रम जारी रहेको छ ।
बजार थोरै बढ्दा नाफा बुक गरिहाल्ने प्रवृत्ति यसपटक पनि दोहोरिने सम्भावना देखिएको छ । बिहीबार दिउँसो १ बजेसम्मको बजार हेर्दा नेप्सेमा बिक्री चाप पर्न थालेको देखिन्छ ।
बिहीबार बजार खुलेदेखि नै बढ्दै जाने क्रममा साढे ११ बजे १२४७ अङकसम्म पुगेको थियो । तर त्यसको १५ मिनेटमा नै बजारमा १० अङ्कको गिरावट आइसकेको थियो । त्यसपछि फेरि बढेको बजार १२४५ अङ्कसम्म पुगे पनि अहिले भने १२३५ को हाराहारीमा कारोबार भइरहेको छ । १ सय ६० कम्पनीको ३९ करोड २८ लाखको कारोबार भएको बजारमा एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीको ५ करोड ५७ लाख रुपैयाँभन्दा धेरै मूल्यको सेयर किनबेच भएको छ ।
कारोबारमा आएका ११ समूहमध्ये होटल, जलविद्युत र जीवन बीमा समूहको सूचक ओरालो लाग्दा अन्य समूहका सूचकमा हरियाली छाएको छ ।