इटहरीः सुनसरीको इटहरीबाट पक्राउ परेका मोहन कार्की विप्लव समूहको सुनसरी जिल्लाको आर्थिक विभागका संयोजक भएको अनुसन्धानबाट देखिएको छ ।
प्रदेश १ प्रहरीको रिजनल इन्भेस्टिगेशन टिम (रिट) र इटहरी प्रहरीको सिभिल टोलीले उनलाई इटहरी ९ गैसारबाट आइतबार पक्राउ गरेको थियो ।
इटहरी ११ सोनापुर बस्ने कार्की विप्लव समूहको चन्दा सङ्कलनको प्रमुख व्यक्ति भएको अनुसन्धानले देखाएको छ । उनको साथबाट बरामद भएको डायरीमा सुनसरी, मोरङ र झापाका स्थानीय निकाय, उद्योगी, व्यवसायी, ठेकेदार तथा सरकारी कार्यालयका प्रमुखहरूको नाम र नम्बरसहितको विवरण भेटिएको छ । साथै प्रहरीले उनको साथबाट पार्टीको लेटरप्याडसमेत बरामद गरेको छ ।
कार्कीले नगरपालिका, गाउँपालिका र वडा कार्यालय जस्तो स्थानीय निकायमा पनि चन्दा माग्ने गरेको बताइएको छ । व्यवसायी तथा सरकारी कार्यालयका प्रमुखलाई नै धम्क्याएर कार्कीले चन्दा उठाउने गर्दथे । अनुसन्धानको क्रममा कतिपय व्यवसायी, उद्योगी तथा ठेकेदारहरूबाट उनले मोटरसाइकल समेत लगेको बताइएको छ ।
कार्कीको बिषयमा धेरै ठाउँबाट गुनासो आएपछि इटहरी प्रहरीले उनको खोजी गरेको थियो । दुई महिना अघि इटहरी—धरान सडक खण्डको पानीपियामा बम राख्ने कार्यमा पनि डीसपी समीरचन्द्र खरेलले जानकारी दिए । कार्की प्रहरीको ‘मष्ट वान्डेट’ सूचीका विप्लवका कार्यकर्ता भएको उनले बताए ।