बेलबारीः मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा रहेको नमुना सामुदायिक वनभित्र सोमबार बिहान ३ नाल भरुवा बन्दुक फेला परेका छन् ।

सबै बन्दुक गोली लोड गरेको अवस्थामा फेला परेका थिए । प्रहरीको गस्ती टोलीले बेवारिसे अवस्थामा बिहान ८ बजे रुखको टोड्काभित्र लुकाएर राखेको अवस्थामा बन्दुक फेला पारेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउँजूका अनुसार ती बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । बन्दुक कसले राखेको हो भन्ने बारेमा खुलेको छैन ।

अवैध रूपमा वन्यजन्तुको चोरी सिकारी गर्ने समूह प्रहरी आएको थाहा पाएपछि रुखको टोड्कामा बन्दुक लुकाएर भागेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।