विराटनगरः विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले लागूऔषधसहित मङ्गलबार दिउँसो एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागूऔषध शरीरमा टेपले बाँधेर नेपाल छिरेका भारतको अररिया जिल्ला जोगबनी ग्राम पञ्चायत–९ का २२ वर्षीय मोहम्मद करिम अन्सारी पक्राउ परेका हुन् । पैदल हिँडिरहेको अवस्थामा शङ्का लागेर उनलाई प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । अन्सारीको साथबाट ५० एम्पुल एभिल, ५० एम्पुल डाईजेल्याब र ५० एम्पुल लुपिजेसिक नामक लागूऔषध फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए ।

पक्राउ परेका अन्सारीले आफूले नचिनेको व्यक्तिले एक हजार रुपैयाँ दिएर इटहरीसम्म पु¥याउन लगाएको प्रहरीलाई बताएका छन् । प्रहरीले पक्राउ परेका व्यक्ति लागूऔषधको कारोबारी नै भएको हुन सक्ने आशङ्का गरेको जनाएको छ ।