धरानः सुकुम्बासीलाई बिनाशर्त लालपूर्जा वितरण गरी सुकुम्बासीमुक्त राष्ट्र घोषणा गर्न नेपाल बसोबास बस्ती संरक्षण समाजले माग गरेको छ ।

समाजको २० औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा देशैभरका सुकुम्बासीलाई लालपूर्जा दिएर राष्ट्रलाई सुकम्बासीमुक्त राष्ट्र घोषणाको माग गरिएको हो । स्थापना दिवसको अवसरमा सङ्गठनको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै ‘अबको काम, लालपूर्जामा सुकुम्बासीको नाम’ नारासहित अभियान सञ्चालन गरिने समाजका महासचिव कुमार कार्कीले बताए ।

देशका ७० लाख सुकुम्बासीलाई बिनाशर्त लालपूर्जा वितरण गर्न राज्यलाई दबाब दिन विभिन्न कार्यक्रम सञ्चालन गरिने उनले बताए । उनले भने, ‘सुकुम्बासीको माग पूरा नभए अन्तिम अस्त्रका रूपमा सत्ता परिवर्तनको शान्तिपूर्ण वैचारिक सङ्घर्षमा उत्रने छौं ।’ स्थापना दिवसमा २१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

नीति तथा कार्यक्रममा सत्ता परिवर्तनको सङ्घर्ष, प्रतिरक्षात्मक सङ्घर्ष र शान्तिपूर्ण वैचारिक सङ्घर्ष भनिएको छ । कार्कीले भने, ‘हामी शुरुमा शान्तिपूर्ण हुँदै सङ्घर्ष गर्छाैँ, नभए सत्ता परिवर्तनको लागि नयाँ क्रान्तिको लागि अन्तिम लडाइँ लड्नेछौँ ।’

सुकुम्बासी अधिकारको ऐतिहासिक दिनका लागि अब अन्तिम पटक भूमि अधिकारका लागि एक हुन समाजले आह्वान गरेको छ । लालपूर्जा प्राप्त गरेर भावी सन्ततिलाई सुकुम्बासीमुक्त बनाउन सबै सुकुम्बासी जाति, धर्म, भाषा, पार्टीभन्दा माथि उठेर एउटा मालामा गाँसिएर अगाडि बढ्नसमेत समाजले आग्रह गरेको छ ।

समाजका अध्यक्ष लड्डु खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का प्रदेश सांसद कुसुमकुमार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।